ओखलढुङ्गामा २१ वर्षीया युवती गर्भवती भएपछि ८६, ६३ र ५० वर्षीय वृद्ध पक्राउ

 ओखलढुङ्गा -  ओखलढुंगामा एक अविवाहित युवती गर्भवती भएपछि प्रहरीले गाउँकै तीन वृद्धलाई पक्राउ गरेको छ ।  मानेभन्ज्याङ गाउँपालिका–९ का ८६ वर्षीय कपिलमणि गौतम, ६३ वर्षीय नन्दलाल गौतम र ५० वर्षीय केशरप्रसाद बास्तोलालाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अहिले उनीहरुलाई प्रहरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । 

‘वौद्धिक अपाङ्गता गर्भवती युवती २१ वर्षकी छिन्, उनी अविवाहित हुन्,’ कार्कीले भने, ‘उनको स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको छ । उनले आफ्नो पेटमा तीन महिनाको गर्भ रहेको जानकारी दिएकी छन् ।’ युवतीले ८६ वर्षीय वृद्धसहित तीन जनाले आफूलाई पालैपालो करणी गर्दा गर्भ बसेको बयान प्रहरीलाई दिएकी इन्सपेक्टर कार्कीले बताए । 

युवती गर्भवती भएको हल्ला चलेपछि ५० वर्षीय केशरप्रसाद बास्तोलाले आत्महत्याको प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ । यही साउन ७ गते राति बास्तोलाले आत्महत्याको प्रयास गरेपछि तीनजना मिलेर युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।  

उनीहरुले आफ्नो अपराधलाई ढाकछोप गर्न युवतीलाई गर्भपतन गराउन साउन ६ गते काठमाडौं समेत पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । इन्सपेक्टर कार्कीले युवतीको सम्पूर्ण स्वास्थ्य अवस्था खुलाउन माग गरेर अस्पताललाई पत्र पठाइएको जानकारी दिए ।