रोजगारीका क्रममा हुने मृत्युदर बढ्दै : वार्षिक सरदर एक हजार व्यक्तिको मृत्यु

काठमाडौँ - रेमिट्यान्सले धानेको मुलुकमा त्यही रेमिट्यान्स पठाउनेहरूप्रति सरकार जिम्मेवार नबन्दा वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर बढ्दै गएको छ । सरकारले रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रलाई सहयोग गर्नेको जीवन रक्षा गर्न नसक्दा अकालमा विदेशमा ज्यान गुमाउनेको संख्या बढेको पाइन्छ ।

पछिल्लो छ वर्षमा सयौँ जना नेपालीले वैदेशिक रोजगारीको नाममा विदेश र स्वदेशमै पनि ज्यान गुमाउनेको संख्या उच्च रहेको वैदेशिक रोजगार बोर्डले बताएको छ । बोर्डका अनुसार पछिल्लो छ आर्थिक वर्षमा छ हजार छ सय ३३ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।

अदक्ष, अशिक्षित र अनभिज्ञ श्रमिकको भर्नादरका कारण वैदेशिक रोजगारीको नाममा नेपालीहरूले ज्यान गुमाइरहेको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीका लागि भर्ना कार्यक्रम प्रभावकारी बन्न नसक्दा नेपाली श्रमिकहरूले ज्यान गुमाएको पाइन्छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपाली युवायवतीहरूलाई वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ ।