आज एमालेको चियापान कार्यक्रम हुँदै, जालान् एकीकृत समाजवादीका नेताहरू ?

 काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज  गर्दैछ । कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता–कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ । एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।


नेकपा एमालेले पहिलो पटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई औपचारिक कार्यक्रममा निमन्त्रणा गरेको छ । सो समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतलाई पत्र काटेर औपचारिक निमन्त्रणा गरिएको एमालेका एक नेताले जानकारी दिए ।

पार्टी विभाजनपछि एमालेले पहिलो पटक एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिँदै औपचारिक निमन्त्रणा गरेको हो । त्यस्तै, एकीकृत समाजवादीका सबै सांसदहरूलाई पनि चियापान समारोहमा निमन्त्रणा गरिएको छ । एकीकृत समाजवादीका मन्त्रीहरूलाई पनि चियापानमा आमन्त्रण गरिएको छ । मन्त्रीहरूलाई मन्त्रीकै हैसियतमा निमन्त्रणा गरिएको एमालेका ती नेताले जानकारी दिए ।

माधव नेपालले २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दै पार्टी विभाजन गरेका थिए । त्यसयता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्ततापूर्ण सम्बन्ध थियो । एमाले अध्यक्ष ओलीले त पटक पटक सार्वजनिक समारोहबाटै एकीकृत समाजवादीलाई पार्टी नै नभएको बताउँदै आएका थिए ।