राष्ट्र बैंकले १३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८(ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन्। बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ ।

विसं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।