'ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सबै जिम्मेवार हुनुपर्छ' : गृहमन्त्री श्रेष्ठ

 काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सरोकारवाला सवै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह उद्घाटन गर्दै श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समधान गर्न एउटा निकायले मात्रै नसक्ने भन्दै चालक र अन्य पक्ष समेत जिम्मेवार हुनुपर्ने बताए ।

ट्राफिक प्रहरी, महानगरपालीका, यातायात व्यवस्थापीका मिलेर एकीकृत योजना बनाएर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । श्रेष्ठले सार्वजनिक यातायातलाई सहज र सूलभ बनाएर निजी यातायातको प्रयोगलाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको धारणा राखे । सडक सुरक्षाका साथै ट्राफिक व्यवस्थापन गर्न नसके जनताको शान्ति सुरक्षामा समेत प्रश्न उठ्ने भएकाले ट्राफिक व्यवस्थापनको ठूलो महत्व रहेको उनको भनाइ छ ।

त्यस्तै, उनले सडक सुरक्षालाई प्रभावकारी बनाउनका लागि सचेतना पनि उतिकै महत्वपूर्ण रहेको जिकिर गरे । गृहमन्त्री श्रेष्ठले ट्राफिक प्रहरीलाई बैज्ञानिक रुपमा ट्राफिक व्यवस्थापनबारे जानकारी गराउनुपर्ने र ट्राफिक प्रहरीका लागि यसअघि भन्दा बढी प्रोत्साहन गर्ने गरी छलफल भइरहेको जानकारी दिए ।