निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्कन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन्।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने बताए। तर अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको बताए।

यसको प्रमाण पछिल्ला सरकार गतिविधिले पनि प्रमाणित गरिसकेको बताए। उनले गुनासो मात्रै नभई समाधान खोज्न लाग्नुपर्ने बताए। निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन आग्रह गरे।

उपप्रधानमन्त्री पौडेलले संसदमा विचाराधीन कानुनको बारेमा समितिमा निजी क्षेत्रसँग एकपटक छलफल गरेर सुझाव ग्रहण गरी कानूनहरु निर्माण गर्ने प्रतिबद्धता जनाए।