थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

 काठमाण्डौँ - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् ।

चीनको सिचुवान प्रान्तको छेन्दुमा सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उनले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताए ।

नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानी गर्न आग्रह गरे । “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ । हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उनले भने ।

वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उनको भनाइ छ । लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उनले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताए ।