मिटरब्याजपीडितको समस्यामा सरकार संवेदनहीन भयो : नेकपा एमाले

काठमाडौं – लामो समयदेखि मिटरब्याज पीडितले आफ्ना समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि ठोस कदम नचाल्नु सरकारको संवेदनाहिनता भएको नेकपा एमालेले टिप्पणी गरेको छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त समस्या समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले कानुनविपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठह¥याउने गरी कानुनी व्यवस्था गर्न माग गरेको छ । 
एमालेले मौद्रिक तरलताको संकट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरुको ब्याजदर घटाउन, त्यसलाई वाञ्छित सीमाभित्र राख्न र व्यवसायीहरुको समस्या समाधान गर्न पनि सरकारसँग माग गरेको छ ।

बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुलाई निर्देशन समेत दिएको उनँले जानकारी दिए।