अमेरिकबाट नेपाल फर्किए दुई मूर्ति र भैरबको मुकुण्डो  

काठमाडौँ । चोरी भएर अमेरिका पुगेका दुई थान मुकुण्डो र दुई मूर्तिहरु नेपाल फिर्ता भएका छन् ।

१६औं शताब्दीमा तामाबाट  निर्मित भैरवको मुकुण्डो तथा १६औं शताब्दीकै उमा/महेश्वरको प्रस्तर मूर्ति र १७औं शताब्दीको दुर्गाको प्रस्तर मूर्ति बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको हो ।

दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएका भैरबको दुई मुकुण्डो अमेरिकाको ड्यालास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेका थिए ।

पाटनको ओमवहाल परिसरबाट सन् १९८० को दशकमा उमामहेश्वरको मूर्ति हराएको थियो  । त्यस्तै दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटबाट चोरी भएर अमेरिका पुगेका थिए ।

न्यूयोर्कस्थित नेवाः गुथीको आर्थिक सहयोगमा न्यूयोर्कको नेपाली बाणिज्य दूतावास, अमेरिकाको म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी अफिस न्यूयोर्क, अमेरिका डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्ट लगायत संस्थाहरुको पहलमा ती मूर्ति र मुकुण्डो नेपाल ल्याइएको हो । अमेरिकाबाट पुरातात्विक महत्वका ७२ थान कलात्मक वस्तु नेपाल ल्याईसकेको विभागले जनाएको छ ।