बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौँ - सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ। उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण विसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगलाई उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन तथा विश्लेषण गर्ने, उक्त घटनाको कारण र त्यस स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी कमीकमजोरी पहिचान गर्ने कार्यादेश दिइएको छ ।