काठमाडौं । पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । बिहिबार छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बन्यो । बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १ सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए । दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेश्रो तथा अन्तिम दिन शुक्रबार ८ स्वर्णको टुंगो लाग्ने छ । पहिलो दिन १० र दोश्रो दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचे । उनले ५७।४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५।५० मिटरको कीर्तिमान भंग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो भए । छात्रा ८ सय मिटर दौड २ मिनेट १७।९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् ।