मतगणना शुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने बताए । त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ । आयोगले गरेको यो प्रतिवद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे ।