नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोल्न अझै ३३७ मिटर बाँकी

काठमाण्डौँ - नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ३३७ मिटर मात्रै बाँकी रहेको छ । सुरुङमार्गको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म २३ सय ४० मिटर सुरुङ खन्ने काम सकिएको छ तर सुरुङ मार्गका आवश्यक सम्पूर्ण काम सम्पन्न गर्न भने अझै १६ महिनाभन्दा धेरै समय लाग्ने भएको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नवीनमान श्रेष्ठले १६ महिनाभित्रै सुरुङमार्ग निर्माणको काम सम्पन्न हुने दाबी गरे ।

आयोजनाका अनुसार वर्किङ अडिटतर्फ १२६ मिटर काम भएको छ। त्यसैगरी क्रस प्यासेजतर्फ पनि एक सय २८ मिटर काम भएको छ । आयोजनाका अनुसार कुल सुरुङमार्गतर्फको भौतिक प्रगति भने ९३.७० प्रतिशत भएको छ । अझै ६.३० प्रतिशत काम बाँकी छ । आयोजनाका प्रमुख श्रेष्ठले सुरुङमार्गको भुइँ ढलान–कंक्रिट लाइलिङको काम भने एक हजार दुई सय ५३ मिटर अर्थात् ४६.६० प्रतिशत मात्रै काम भएको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार सुरुङ मार्गको बाँकी लाइलिङको काम गर्न अझै ६ महिनाभन्दा धेरै समय लाग्नेछ ।

सुरुङमार्गको हालसम्मको समष्टिगत भौतिक प्रगति ६१.३१ प्रतिशत र वित्तीय प्रगति ५७.२७ प्रतिशत भएको छ । आयोजनाका अनुसार फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गााको ९५ प्रतिशत मुआब्जा र क्षतिपूर्ति वितरण गरिसकेको छ ।

अहिलेसम्म फ्लाइओभरको तीन वटा फाउन्डेसन र दुई वटा सबस्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने अझै तीन वटा सबस्ट्रक्चरको काम हुन बाँकी छ । सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ । सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो ।