काठमाडौं । यस वर्षको साउन ११ गतेसम्म मुलुकभर कुल ७८.६८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो प्रगति अघिल्लो वर्षको यही मितिसम्मको ८२.६६ प्रतिशत भन्दा करिब ४ प्रतिशतले कम हो।
कुल १३ लाख ७२ हजार ६६६ हेक्टर क्षेत्रफलमध्ये १० लाख ८० हजार ८५६ हेक्टर क्षेत्रमा धान रोपिएको मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा ११ लाख ३५ हजार ८५६ हेक्टरमा रोपाइँ भएको थियो।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जहाँ ९१.९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ। त्यसपछि कर्णाली प्रदेशमा ८९.६६ प्रतिशत र गण्डकी प्रदेशमा ८५.४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
त्यसैगरी, कोशीमा ८०.३२ प्रतिशत, बागमतीमा ६०.१२ प्रतिशत, मधेसमा ५७.६२ प्रतिशत र लुम्बिनी प्रदेशमा ५२.०४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको हो।
मन्त्रालयका अनुसार रोपाइँमा भएको यो ढिलाइ निरन्तरको वर्षा, बाढी, र केही ठाउँमा सुख्खा तथा मजदुर अभावका कारणले भएको हो।