काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चालु आर्थिक वर्षको बजेट संशोधनमार्फत विकास, पूर्वाधार, प्रशासनिक खर्च कम गर्ने प्रस्ताव राखेकी छन् । स्वीकृत कुल बजेट रकम, चालू खर्च रकम तथा पूँजिगत खर्च रकममा कुनै थपघट नगरी उनले कार्यक्रमहरुमा मात्र संशोधनको प्रस्ताव पेश गरेको बताइन् । उनका अनुसार थपघट भएका रकम आयोजना तथा विकास योजनाहरुको पछिल्लो लागत मूल्यांकनका आधारमा गरिएको हो । शुक्रबार काठमाडौंमा सम्पन्न महानगरपालिकाको १८औँ नगर अधिवेशनमा उपप्रमुख डंगोलले पूर्वाधारसँगै अन्य केही क्षेत्रको बजेट कटौती गर्ने प्रस्ताव राखेकी हुन् ।
उनको संशोधित प्रस्ताव अनुसार चालु आवमा विकास बजेट एक करोडले घटाएर ६७ करोड ६३ लाख ४ हजार रुपैयाँ कायम गर्न प्रस्ताव गरेकी छन् । विकास क्षेत्रमा यस अघि ६८ करोड ७४ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसैगरी कार्यालय संचालन तथा प्रशासनीक खर्च पनि घटाएर ३ अर्ब १२ करोड ३७ लाख १४ हजार रुपैयाँ प्रस्ताव गरेकी छन् । यसअघि त्यसका लागि ३ अर्ब १२ करोड ४२ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
यस्तै गरी डंगोलले पूर्वाधार विकास खर्चलाई पनि केही घटाएर १२ अर्ब ९ करोड ४५ लाख ६० हजार रुपैयाँ राख्न प्रस्ताव गरेकी छन् । तयसअघि पूर्वाधार क्षेत्रमा महानगरले १२ अर्ब १० करोड ८१ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो । यसैगरी उनले सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि पनि बजेटलाई केही कम गराउने गरी प्रस्ताव गरेकी छन् । महानगरको सामाजिक विकासतर्फ ५ अर्ब ८० करोड ४१ हजार रुपैयाँ प्रस्ताव उनको छ । यसअघि ५ अर्ब ८२ करोड ३३ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको थियो। त्यसैगरी, सुशासनतर्फ ३ अरब ४१ करोड ९७ लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेको उनले बताइन् । उक्त क्षेत्रमा महानगरले ३ अरब ३७ करोड ११ लाख ७२ हजार रुपैयाँ छुट्याएको थियो ।
डंगोलले आफ्ना संशोधित प्रस्ताव सभामा प्रस्तुत गर्दै भनिन्, ‘१७ औं अधिवेशनबाट स्वीकृत भएको काठमाडौँ महानगरपालिकाको चालू आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधन सम्बन्धमा नगर सभाको १८ औं अधिवेशनबाट वृहत्तर रुपमा छलफल गरी बाँकी कार्य अवधिमा कार्यान्वयन हुने गरी संशोधन प्रस्ताव स्वीकृत हुनेछ र यसले महानगरपालिकाको घोषित नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा प्रभावकारिता वृद्धि हुने अपेक्षा गरेको छु।झ्
महानगरले आर्थिक वर्ष २०८२/८३ को लागि संचितकोषमा व्ययभार पर्ने गरी २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ । त्यसैगरी चालू आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने जसमध्ये आन्तरिक आय र वैक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपौयाँको र बाँकी नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वााडफाँडवाट प्राप्त हुने अनुमान गरिएको थियो ।
यस्तै चालू आवको पुष ९ गतेसम्म महानगरले कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल विनियोजित रकमको ८.४८ प्रतिशत हो। समग्रमा महानगरले चालू खर्च २८.४४ प्रतिशत र पूजिगत खर्च १२.३९ प्रतिशत गरेको डंगोलको भनाइ छ । ‘हालसम्म पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १२.०६ प्रतिशत खर्च भएको देखिएको छ। कार्यालय झञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबै भन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको देखिन्छ’ डंगोलले विवरण सुनाउँदै भनिन् ।
काठमाडौं महानगरपालिकाको वडा कार्यालयहरुमा निकासा हुने रकमका आधारमा सबैभन्दा धेरै बजेट खर्च वडा नं. ७ ले चालु शिर्षकमा २४.९२ प्रतिशत र पूँजिगत खर्चमा ३२.३३ प्रतिशत गरेको छ । त्यसैगरी, वडा नं. १६ ले कुल खर्च २६.१४ प्रतिशत गर्दा वडा नं. २३ ले २३.३१ प्रतिशत, वडा नं. १४ र बडा नं.१९ ले कमश ः २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेका छन् । अन्यको बजेट खर्च कमजोर देखिएको छ ।
यस्तै डंगोलले महानगरको राजस्व संकलन सकारात्मक रहेको बताइन् । महानगरले चालू आर्थिक वर्षको पुस ९ गतेसम्म कुल ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। जसमा आन्तरिक आय तर्फ कुल २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ रहेको छ । समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्य अनुसार प्रगति २७.८६ प्रतिशत र आन्तरिकतर्फ कुल लक्ष्यको २६.४४ प्रतिशत प्रगति भएको देखिन्छ।
‘देशको विसंम परिस्थितिका बाबजुत कर सकंलनमा देखिएको प्रगतिलाई सकारात्मक लिनै पर्छ। करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन यही पौष मसान्तसम्म कर बुझाउने करदातालाई १० प्रतिशत छुटको व्यवस्थालाई समयमै कर तिर्न आग्रह गर्छु’ उपप्रमुख डंगोलले भनिन् । महानगरले राजश्व आम्दानीतर्फ कुल १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।