काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु ६ लाखको क्षति हुनाका साथै दुईजना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो ।
आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ताकपडालगायत सामग्री जल्दा रु ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुईजना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको हो ।
अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।