रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको प्रदर्शन  

काठमाडौँ । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन् ।

लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि सहकारीका पीडितहरूले पनि सडक प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् । पीडितहरूले आफ्नो पीडामा सहयोग गर्नुको सट्टा पीडित विरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् ।

विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ । जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।