दाङमा विद्यालयमै कोरियन भाषा पढाउन सुरु भएपछि विद्यार्थी उत्साहित

काठमाडौँ । दाङमा एक विद्यालयले पाठ्यक्रममै कोरियन भाषा पढाउन सुरु गरेको छ । घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि  कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको हो ।

कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछी व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए।

उनकानुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरु विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ। पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताए।

पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ। ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त रु छ सय ५० शुल्क तिर्नुपर्छ। 

तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ। यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन्। विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीले विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरू कविराम चौधरी र श्यामलाल लहेरले पढाउने गरेको जानकारी दिए।