व्यवस्थित र स्वच्छ शहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह  

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेको बताएका छन्।

आइतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले घरजग्गा व्यवसायमा रहेका समस्या पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए।

शहर व्यवस्थापनमा भएका समस्या पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको बताए। उनले शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभई निजी क्षेत्रलाई पनि समावेश गरिने जानकारी दिए। उनले सरकार र निजी क्षेत्र मिलेर अहिलेको व्यवस्थित, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्ने गरी अघि बढ्न आवश्यक रहेको दावी गरे।​

सिंहले भने, ‘शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभई निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्छ भन्नेमा हामी विश्वस्त छौँ, सबै मिलेर अहिलेको व्यवस्थित शहर, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्ने गरी अघि बढ्नुपर्छ।’

कार्यवाहक प्रधानमन्त्रीसँगको भेटपछि नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्ने माग गरेको बताए। उनले २०६२ सालदेखि पटकपटक शहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भए पनि ऐन आउन नसकेको बताए।

उनले जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्ने प्रतिबद्धता भइसकेकाले ल्याण्ड पुलिङ, हाउजिङ पुलिङ जस्ता विषय निजी क्षेत्रको सहभागितामा गराउनुपर्ने माग गरेको बताए। विदेशीलाई २० प्रतिशतसम्म अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था पटक पटक पास गरे पनि कार्यान्वयनमा नआएको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए। ​

उनले भने, ‘विदेशीलाई अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था, २० प्रतिशतसम्म अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था पटक पटक पास गरेको छ तर कानून बनेर आउन सकेको छैन।’

अध्यक्ष लोहनीले हालसम्म ७२ वटा अपार्टमेण्ट रहेको उल्लेख गर्दै अपार्टमेण्टका कमन स्पेस र ल्याण्ड डेभलपरकै नाममा झुण्डिएर रहेको भन्दै आवास धनीहरूको नाममा ट्रान्सफर हुनुपर्ने माग गरे।