माओवादीले राजनीतिक मूल्य मान्यताको ख्याल नगरेको महासचिव पोखरेलको आरोप 

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादीले राजनीतिक मूल्य मान्यताको ख्याल नगरेको आरोप लगाएका छन्।

जसका विरुद्ध हतियार प्रयोग गरिएको छ, उसले पनि जनयुद्ध भनिदिनुपर्छ भन्ने माओवादीको हठ स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन्।

शनिवार दाङको घोराहीमा प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले एक सय दिन पूरा नगर्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले संसद्‌मा दिएको अभिव्यक्ति असंसदीय र अराजनीतिक भएको बताए।

उनले भने, ‘माओवादीका लागि जनयुद्ध होला तर अरूका लागि नहुनसक्छ। नेपाली काँग्रेसका ४(५ हजार कार्यकर्ता त्यो द्वन्द्वको सिकार भए। एमालेका झण्डै पौने ५ सय कार्यकर्ता मारिए। काँग्रेस र एमालेले त्यसलाई जनयुद्ध भन्न सक्छन् कि सक्दैनन् ? माओवादी नेतृत्वले हेक्का राख्नुपर्ने हो।’

यसैगरी उनले माओवादीले १० वर्षे सशस्त्र जनयुद्ध भनेर जुन भाषा प्रयोग गर्दछ, त्यो भाषा अरूले प्रयोग गर्नुपर्छ भन्ने आग्रह नै समस्या भएको बताए।

यस्तै उनले १२ बुँदे सहमतिमा नै उनीहरूले प्रयोग गरेको भाषा सशस्त्र आन्दोलन, सशस्त्र द्वन्द्व, सशस्त्र संघर्ष रहेको र संविधानले पनि त्यसलाई सशस्त्र आन्दोलन मान्ने गरेको बताए।

महासचिव पोखरेलले काङ्ग्रेस र एमालेबीचको सहकार्य लामो समय जाँदैन भनेर अस्थिरता सृजना गर्ने र सडकमा रमिता देखाउने गतिविधि शुरु भएको बताए।

यसैगरी उनले २०८४ को निर्वाचनमा काँग्रेस र एमालेले चुनावमा एक्लाएक्लै लड्ने भन्दै माओवादीलाई पनि एक्लै चुनाव लड्न आग्रह गरे। उनले भने, ‘३२ नम्बर भनेको म्याजिक नम्बर हो‚ ५ वर्ष यसैले खान्छ भनेर धारणा बनाएको छ। जनताको विश्वास जित्नुभन्दा म्याजिक नम्बर प्राप्त गर्नु ठुलो कुरा जस्तो छ। राजनीति भनेको जनताको विश्वास जित्ने कुरा हो ?’

उनले माओवादी केन्द्रलाई आफ्नो म्याजिक नम्बर देखाएर राजनीति गर्ने कुरा छाडेर आफ्ना नीतिहरूलाई स्थापित गरेर जनताको विश्वासमा शासन गर्न आग्रह गरे।

उनले रास्वपा सभापति रवि लामिछानेले अहिले मैले क्लिन चिट पाएँ भनेर हिँड्ने कुरा उचित नभएको बताए।