जनयुद्ध दिवस मनाउन रोक्ने अदालतविरुद्ध आवाज उठाउनूस् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउन अदालतले रोकेको विषयमा आवज उठाउनुपर्ने बताएका छन्।

सहिद प्रतिष्ठानको वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद्को निर्णयलाई अदालतले मनाउन रोकेको विरुद्ध आवाज उठाउनुपर्ने बताएका हुन्।

‘जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस भन्नु विल्कुल ठीक हो नि। यति ठूलो युगान्तकारी परिवर्तन ल्याउने जनयुद्धलाई राष्ट्रिय दिवस भन्दा र त्यसलाई मनाउने औपचारिक निर्णय मन्त्रिपरिषदबाट गरेको विषयलाई अदालतले जसरी रोकेको छ त्यसविरुद्ध आवाज पो उठाउने हो।’ उनले भने, ‘सरकारले ठीक गर्‍यो भन्नुपर्ने ठाउँमा सरकारले यो पनि गरेन त्यो पनि गरेन भनेर प्रतिक्रयावादीलाई नै फाइदा पुर्‍याउने काम हामीले गर्नु हुँदैन।’

उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याइने भन्दै अब आफूहरूको ध्यान आयोग बनाउने र त्यसमा सही नेतृत्व ल्याउने कुरामा केन्द्रित हुने उनले बताए।

प्रचण्ड नेतृत्वको सरकारले गत फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।