दरबारमार्गमा प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्ने व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी 

काठमाडौँ । दरबारमार्गमा संविधान दिवसको अवसरमा आयोजित नेुनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारावाजी गर्ने व्यक्ति ज्यान मार्ने मुद्दामा फरार अभियुक्त रहेको खुलेको छ ।

बिहीबार संविधान दिवसका अवसरमा नागरिक स्तरबाट आयोजित कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका व्यक्ति तिलक खड्का ज्यान मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो।

त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएका थिए। त्यसपछि खड्काविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको थियो ।

साँझमा प्रधानमन्त्री आएर सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले खड्का लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।