क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्छ : पारस खड्का

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।

शनिबार गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन्। त्यसका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनको बुझाइ छ।

साथै पारसले क्यानसमक्ष धेरै चुनौतीहरु रहेको उल्लेखसमेत गरेका छन्। नेपाली क्रिकेटका संरचनालाई बलियो बनाउन काम  गरिरहेको बताउँदै पूर्वक्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गरे।

उनले खेलको जित मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा राखे। थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको उनको भनाइ छ। उनले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेकोसमेत औंल्याए।