सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या आरोपमा पूर्व सशस्त्र प्रहरी सुवेदी पक्राउ

सप्तरी - सप्तरीको फत्तेपुरमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या आरोपमा प्रहरीले सशस्त्र प्रहरीका एक पूर्व जवानलाई पक्राउ गरेको छ । बैंक लुटपाटका क्रममा सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका–५ का ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई पक्राउ गरेको हो ।

गत बिहीबार राति बैंकको फत्तेपुर शाखामा लुटपाट गर्ने उद्देश्यले बैंकभित्र प्रवेश गरी खुकुरी प्रहार गरेर सुवेदीले सुरक्षा गार्ड फुयाँलको हत्या गरेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार उनलाई प्रहरीको तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोलीले चितवनको राप्ती नगरपालिका–१ लोथरबाट पक्राउ गरेको हो ।