फिनल्याण्डकी पूर्व प्रधानमन्त्री मारिनद्वारा संसद् सदस्यबाट राजीनामा

हेलसिन्की - गत अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्र्याट्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मारिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गरेका छन् ।

मारिनले टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा रणनीतिक परामर्शदाता नियुक्त भएको बताएकी छिन् । ‘म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्न सक्छु । यो यस्तो काम हो जुन मलाई लाग्छ कि फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुनेछ’, उनले पत्रकारसँग भनिन् ।

मारिनले भनिन्, ‘मसँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु ।’ सञ्चारमाध्यमले ‘रक स्टार प्राइम मिनिस्टर’ को संज्ञा दिएकी मारिनले फिनल्यान्डको आम निर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सकेका थिएनन् ।

त्यसपछि मारिनले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उनले भनेका थिए, ‘कहिलेकाहीं मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ ।’ अत्यन्त लोकप्रिय नेता भए तापनि मारिन आफ्नो निजी जीवनसँग सम्बन्धित घोटालाहरूमा फसेकी थिइन्, जसले उनको प्रतिष्ठालाई ध्रुवीकरण गरेको थियो । अगष्ट २०२२ मा, मारिनले फिनल्याण्डका सेलिब्रेटीहरूको एक समूहसँग पार्टी गरेको सामाजिक सञ्जालका भिडियोहरू लिक भएको थियो जसले गर्दा उनलाई गलत कामको शंका हटाउन लागूऔषध परीक्षण गर्न प्रेरित गरेको थियो । (सिन्ह्वा)