सोमालियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी

 सोमालिया - सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले आइतबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले सोमालियामा एल निनोका कारण आएको विनाशकारी बाढीका कारण कम्तीमा ३६ जिल्लाका १० लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो अपडेटमा ओसिएचएले भनेको छ, “हिर्शाबेल र जुबाल्याण्ड राज्यका १० स्थानमा बाढीमा फसेका दशौं हजार मानिसलाई उद्धार गर्न कम्तीमा ३७ वटा डुङ्गा परिचालन गरिएको छ ।”
गत अक्टोबरमा आएको बाढीका कारण देशभरका पूर्वाधार, व्यापार, शिक्षा र खाद्य आपूर्ति सेवा समेत प्रभावित भएको छ ।

चार दशकयताकै सबैभन्दा खराब ९लामो० खडेरीपछि आएको बाढीले पशुधन र बालीनाली नष्ट भएकोे छ भने खडेरीले देशलाई अनिकालको सङ्घारमा पुर्‍याएको छ ।