हेटौंडा - मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको छ भने दुईजना प्रहरीसहित मोटरसाइकल चालक गरी तीन जना घाइते भएका छन् ।
आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-नवलपुर सडकखण्डको थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाइकलले ठक्कर दिएको थियो ।
हेटौंडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नम्बरको मोटरसाइकलले दौडिरहेका प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका एडीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा थप दुईजना प्रहरी पनि घाइते भएका छन् भने मोटरसाइकल चालक पनि घाइते भएका छन् ।