छोराको दोस्रो विवाह गराएको आरोपमा रेडक्रस बझाङका प्रमुख नेपाली पक्राउ, अनुसन्धान जारी

  • बुधबार २१ असो २०८३ १०:४१ AM
कैलाली । आफ्नो छोराको दोस्रो विवाह गराएको आरोपमा नेपाल रेडक्रस सोसाइटी बझाङका कार्यालय प्रमुख श्याम नेपाली पक्राउ परेका छन् । छोरा सुरज नेपालीसहित दुई जनाविरुद्ध बहुविवाहसम्बन्धी जाहेरी परेपछि अनुसन्धानका लागि नेपाली पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङमा परेको जाहेरीमाथि प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको जनाएको छ । जाहेरीकर्ता छाया नेपालीले आफ्ना पति सुरज नेपाली र उनले दोस्रो विवाह गरेको भनिएकी महिलाविरुद्ध बहुविवाहसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै करिब दुई महिना अघि गत साउन १८ गते जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी थिइन । जाहेरीअनुसार छाया र सुरजबिच करिब ६ वर्ष अघि २०७७ माघ १२ गते विवाह भएको थियो । उनीहरूका दुई छोरी छन् । छायाले आफ्नो वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा सुरजले यसै वर्ष गत असार २८ गते राति करिब आठ बजे अर्की महिलालाई आफ्नो घरमा ल्याएर दोस्रो विवाह गरेको आरोप लगाएकी छन् । जाहेरीमा दोस्रो विवाहपछि सुरजले आफूलाई घरमा बस्न नदिएको, कुटपिट तथा गालीगलौज गरेको र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरिएको छ । ‘दोस्रो विवाह गरिसकेको’ भन्दै घरबाट निकालिदिएको र आफू तथा छोरीको ज्यानसमेत जोखिममा रहेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । छायाले जाहेरीमा सुरजले आफूसँग विवाह कायमै रहेको अवस्थामा दोस्रो विवाह गरी बहुविवाह गरेको र दोस्रो विवाह गर्ने महिलाले पनि सुरज विवाहित पुरुष हुन् भन्ने थाहा हुँदाहुँदै विवाह गरेको आरोप लगाएकी छन् । जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ को उपदफा (१) र (२) बमोजिमको कसुर भएको दाबी गर्दै दुवैलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ । जाहेरीसँगै छायाले आफ्नै जन्म दर्ताको प्रतिलिपि, दुई छोरीको जन्म दर्ताको प्रतिलिपि र दोस्रो विवाह भएको भनिएको घटनाको भिडियोसहितको पेन ड्राइभ प्रमाणका रूपमा प्रहरीमा बुझाएको उल्लेख गरेकी छन् । अनुसन्धान पूरा, फाइल सरकारी वकिल कार्यालयमा बझाङका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक बिस्टका अनुसार जाहेरी दर्ता भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकिएको उनले समता प्रेससँग बताए । उनका अनुसार जाहेरीमा दोस्रो विवाह गर्ने पुरुष र महिला तथा विवाह गराउने कार्यमा संलग्न आफ्नो श्रीमानका परिवारका सदस्य तथा विवाह गरे गएकी केटीका परिवारलाई समेत प्रतिवादी बनाएर मुद्दा अघि बढाइएको छ । प्रहरीले घटनासँग सम्बन्धित आरोपमा छायाका ससुरा श्याम नेपालीलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको जनाएको छ । श्याम नेपाली नेपाल रेडक्रस सोसाइटी बझाङका कार्यालय प्रमुख हुन् । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य व्यक्तिका सम्बन्धमा समेत अनुसन्धान गरिएको छ । अनुसन्धान पूरा गरी फाइल सरकारी वकिलको कार्यालयमा पुगेकाले अब सरकारी वकिलको राय तथा निर्णयका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ । पहिलो श्रीमतीबाट दुई छोरी जाहेरीमा उल्लेख भएअनुसार छाया र सुरजको विवाह भएको करिब पाँच वर्षपछि दोस्रो विवाह भएको हो । उनीहरूबाट दुई छोरी जन्मिएका छन् । पहिलो विवाह कायम रहेकै अवस्थामा सुरजले दोस्रो विवाह गरेको र त्यसपछि आफू तथा आफ्ना छोरीलाई घरबाट निकालिएको छायाको आरोप छ । उनले आफू अन्यायमा परेको भन्दै बहुविवाहसम्बन्धी कानुनी प्रावधानअनुसार कारबाहीको माग गरेकी छन् । घटनापछि दोस्रो विवाह गरेका पुरुष र महिला भारततर्फ गएको बताइएको छ । उनीहरूलाई पनि प्रहरीले बहुविवाहसम्बन्धी जाहेरीमा प्रतिवादी बनाएको जनाएको छ । यसअघि घटनामा परिवारका सदस्य तथा आफन्तसहित केही व्यक्तिको संलग्नता रहेको आरोपसमेत सार्वजनिक भएको थियो । विवाह गराउन सहयोग गरेको भनिएका केही व्यक्तिका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीमा परेको जाहेरीमा भने मुख्य रूपमा सुरज नेपाली र उनीसँग दोस्रो विवाह गरेको भनिएकी महिलाविरुद्ध बहुविवाहको कसुरमा कारबाहीको माग गरिएको छ । प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलकहाँ फाइल पठाइसकेकाले अब घटनाको कानुनी निरूपण सरकारी वकिलको निर्णय तथा त्यसपछिको न्यायिक प्रक्रियाबाट हुने देखिएको छ । जाहेरीमा लगाइएका आरोप भने सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी छन् ।