काठमाडौँ। तेह्रथुमको फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटुवालले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। काठमाडौँमा जारी १५औँ महाधिवेशनमा भेटुवालले भुगोलतर्फ कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। उम्मेदवारीमा कोशी प्रदेशको आरक्षण भएपनि मतदान भने देशभरिबाट आएका प्रतिनिधिहरूले गर्नुपर्ने व्यवस्था छ। यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भएका भेटुवालले १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। लोकतान्त्रिक आन्दोलनमा तीन दशकभन्दा लामो योगदान गरिसकेका भेटुवाल कांग्रेसको १२औँ महाधिवेशनपछि निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहेर काम गर्दै आएका छन्। शिक्षण पेशामा लामो समय योगदान गरेका उनी नेपाल शिक्षक संघमा क्रियाशील थिए। पछि नेपाली कांग्रेस तेह्रथुमको सहसचिव भएर काम गरे। ०७९ को निर्वाचनबाट भने उनी फेदाप गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। विशेष महाधिवेशन सभापति गगनकुमार थापाको साथ उभिएका भेटुवाल अब पनि पार्टी गगनकै नेतृत्वमा अघि बढ्ने बताउँछन्। 'गगनजीकै नेतृत्वमा कांग्रेस अघि बढ्छ। यो समयको माग मात्रै होइन, अहिलेको राष्ट्रिय राजनीति र मुलुकको आवश्यकता पनि हो,' उनले भने।