राजदूत सुनुवाइमा प्रश्न गर्नुअघि अध्ययनका लागि समय चाहिन्छ : सभापति श्रेष्ठ

  • मङगलबार २० असो २०८३ ०६:३९ PM
काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतको सुनुवाइ प्रभावकारी बनाउन समितिका सदस्यलाई पर्याप्त अध्ययनको समय दिनुपर्ने बताएका छन् । मंगलबार बसेको समितिको बैठकमा उनले उम्मेदवारको बायोडाटा, विगतको कार्यसम्पादन, सम्बन्धित मुलुकको अवस्था र त्यहाँ नेपालको प्राथमिकताबारे अध्ययन गरेपछि मात्र प्रभावकारी प्रश्न गर्न सकिने बताए । उनका अनुसार सुनुवाइमा प्रश्न गर्ने सांसद र जवाफ दिने उम्मेदवार दुवैको तयारी समान रूपमा प्रभावकारी हुन आवश्यक छ । ‘हामीले अध्ययन नगरी त्यो लेभलको प्रश्न डिजाइन गर्न सक्दैनौं । त्यसकारण हामीलाई अध्ययन गर्ने समय चाहिन्छ,’ उनले भने, ‘दुई–तीन दिन नभईकन हामीलाई पनि गाह्रो हुन्छ ।’ श्रेष्ठले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइमा एउटै ढाँचाका प्रश्नभन्दा देशको अवस्था र नेपालको सम्बन्धका आधारमा फरक विषय उठाउनुपर्ने बताए । भारत, इजरायल र मलेसियालगायत मुलुकका लागि प्रस्तावित राजदूतको जिम्मेवारी र चुनौती फरक हुने भएकाले उम्मेदवारको योग्यता तथा अनुभव सम्बन्धित मुलुकका लागि कत्तिको उपयुक्त छ भन्ने विषयसमेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । उनले सांसदले आफूलाई मन लागेको प्रश्न सोध्नेभन्दा उम्मेदवारको पृष्ठभूमि, सम्बन्धित मुलुकको राजनीतिक तथा आर्थिक अवस्था र राजदूतको जिम्मेवारीलाई आधार बनाएर प्रश्न तयार गर्नुपर्ने बताए । संसदीय सुनुवाइलाई औपचारिकता पूरा गर्ने प्रक्रियाका रूपमा मात्र अघि बढाउन नहुने उनको भनाइ थियो । सुनुवाइको मर्यादा कायम राख्दै प्रक्रियालाई थप रचनात्मक र सिर्जनात्मक बनाउनुपर्ने उनले बताए । समितिमा परेका उजुरीको अध्ययनमा पनि पर्याप्त समय दिनुपर्ने श्रेष्ठले बताए । उनका अनुसार केही उजुरी सामान्य प्रकृतिका र पर्याप्त प्रमाणबिनाका देखिए पनि केही विषय भने थप अध्ययन तथा छानबिन गर्नुपर्ने प्रकृतिका छन् । ‘उजुरीका विषयमा पनि हामीले गम्भीर भएर अध्ययन गर्नुपर्छ । सबै उजुरी एउटै प्रकृतिका हुँदैनन्,’ उनले भने । आवश्यक देखिएका उजुरीमा थप अध्ययन तथा छानबिन गरेर मात्र समितिले निष्कर्षमा पुग्नुपर्ने उनले बताए ।