राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म

  • मङगलबार २० असो २०८३ ०३:०४ PM
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ । समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज २६ र २७ गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्नेगरि तयारी भइरहेको जानकारी दिए ।     बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २८ गते गर्ने तयारी भइरहेको   जानकारी दिदै उपसमिति बनाउनुपर्ने खालका भए दसैँपछि सुनुवाइ हुने जानकारी दिए ।  उनले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताए । जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनुवाइ अघि बढाउन सकिने उनको भनाइ थियो ।   सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई बिदाको समयमा समेत प्रस्तावित राजदूतसम्बन्धी विषय अध्ययन गर्न आग्रह गरे । उनले प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी र उनिहरूले पेस गरेको कार्ययोजनासम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूलाई उपलब्ध गराइसकिएको जानकारी दिए ।