कांग्रेस नेता सीता गुरुङले समावेशी उपसभापतिमा उम्मेदवारी दिने

  • मङगलबार २० असो २०८३ ०२:२५ PM
काठमाडौँ। विधानमा संशोधन र पदाधिकारी संख्या बढाएपछि कांग्रेस नेता सीता गुरुङले समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिने भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।  आकांक्षी नेताहरू धेरै भएपछि कांग्रेसले पदाधिकारी संख्या बढाएर निर्वाचित हुने पदाधिकारीको संख्या २० पुर्‍याएको छ। तीन पटक केन्द्रीय सदस्य रहेर काम गरिसकेकी युवा नेता गुरुङले विधानको नयाँ व्यवस्थाबमोजिम यसपटक समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताइन्।  पहिलो संविधानसभामा हालका सभापति गगन थापासँगै संसदीय राजनीतिमा प्रवेश गरेकी गुरुङ दुवै संविधानसभामा सदस्य थिइन् भने संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा योगदान पुर्‍याएकी थिइन्।  आठराई गाउँपालिका-४, साविक इवामा जन्मिएकी गुरुङले तेह्रथुमबाटै विद्यार्थी राजनीति सुरु गरेकी थिइन्।  नेपाल विद्यार्थी संघको जिल्ला कोषाध्यक्ष र नेपाल महिला संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महासचिवसम्म बनेकी गुरुङ ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। त्यही कार्यकालमा उनी ११ महिना सहरी विकासमन्त्री समेत भइन्। ०७४ को निर्वाचनमा भने उनी तेह्रथुमबाट पराजित भएकी थिइन्। उनी २०७४ मा कांग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भएकी थिइन् । पार्टीमा आदिबासी जनजाति विभागको प्रमुख भएर समेत काम गरिसकेकी उनी यसअघि क्रियाशील सदस्यतासम्बन्धी तत्कालीन महामन्त्री गगनकुमार थापा संयोजकत्वको कार्यदलमा सदस्य थिइन्।  कांग्रेसको संगठनमा लामो समय काम गरिसकेकी गुरुङ नेपालमा सामाजिक समावेशीकरण, महिला र आदिबासी जनजाति आन्दोलन तथा सीमान्तकृत समुदायको अधिकारका सवालमा समेत निरन्तर सक्रिय रुपमा वकालत गर्दै आएकी छन्।