कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने दीपक सोनीको घोषणा

  • मङगलबार २० असो २०८३ ०९:१८ AM
काठमाडौँ। नेपाली कांग्रेसका नेता दीपक सोनीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  दैलेखबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका सोनीले काठमाडौँमा जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन्।  उनले दलित खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको बताए। कांग्रेसको भातृ संस्था नेपाल दलित संघमा केन्द्रीय सदस्य, सचिव र कार्यवाहक महासचिवसम्म भएर काम गरिसकेका छन्।  न्याय, समानता र दलित अधिकारको क्षेत्रमा क्रियाशील उनले अब कांग्रेसको नेतृत्वमा नेपाली समाजलाई अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यको उम्मेदवार बनेको बताए। कांग्रेसले यसपटक २९७ सदस्यीय केन्द्रीय समितिमा दलित समुदायबाट ५ महिला र एक मधेसी दलितसहित १४ जनाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरेको छ।