लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय महिला सदस्यमा टिका सानुको उम्मेदवारी घोषणा

  • सोमबार १९ असो २०८३ १०:२३ PM
काठमाडौँ । लोक तथा दोहोरी गायिका टिका सानुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय महिला सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । आगामी असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा हुने प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सानुले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् । नेपाली गीत–सङ्गीतको क्षेत्रमा करिब १५ वर्षदेखि निरन्तर सक्रिय सानुले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकाङ्क्षाभन्दा पनि लोक तथा दोहोरी गीत–सङ्गीतको विकास, कलाकारको हकहित संरक्षण तथा प्रतिष्ठानलाई अझ बलियो बनाउने उद्देश्यसँग जोडिएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आफूलाई आजको स्थानसम्म ल्याउन कलाकार, शुभेच्छुक तथा संगीतप्रेमीबाट प्राप्त माया, साथ, हौसला र विश्वास महत्त्वपूर्ण रहेको उल्लेख गरेकी छन् । सानुले लोक तथा दोहोरी गीत–सङ्गीतको क्षेत्रमा आफ्नो लामो अनुभवलाई प्रतिष्ठानको संस्थागत विकासमा उपयोग गर्न चाहेको बताएकी छन् । कलाकारका समस्या, उनीहरूको हकहित तथा लोक तथा दोहोरी गीत–सङ्गीतको संरक्षण र प्रवर्द्धनका विषयमा योगदान गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ । सानुको साङ्गीतिक यात्रा दाङबाट सुरु भएको हो । दाङ तथा साबिकको राप्ती अञ्चलमा रहेर साङ्गीतिक क्षेत्रमा सक्रिय हुँदै उनी काठमाडौँ आएकी हुन् । काठमाडौँ आएपछि उनले ठमेल समन्वय समितिमा रहेर समेत काम गरेको अनुभव छ । साङ्गीतिक क्षेत्रसँगै प्रतिष्ठानको संरचना र गतिविधिसँग जोडिएर काम गरेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा अघि सारेकी छन् । उम्मेदवारी घोषणा गर्दै उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष, वर्तमान तथा पूर्व अध्यक्ष, संरक्षक, सल्लाहकार, समानार्थक सदस्य, वर्तमान पदाधिकारी, केन्द्रीय समितिका सदस्य, संस्थापक पदाधिकारी, पूर्व पदाधिकारी तथा पूर्व सदस्य, प्रदेश समितिका पदाधिकारी, उपत्यका समन्वय समिति, विदेश विभाग, जिल्ला तथा सोसरहका समितिका पदाधिकारी, आजीवन सदस्य र महाधिवेशन प्रतिनिधिसमक्ष मतका लागि आग्रह गरेकी छन् । आफ्नो उम्मेदवारीलाई मूल्याङ्कन गर्दै अमूल्य मत प्रदान गर्न उनले प्रतिष्ठानका प्रतिनिधिसँग आग्रह गरेकी छन् । आफूले हालसम्म प्राप्त गरेको माया, विश्वास र साथप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि साथ, सुझाव र विश्वास प्राप्त हुने अपेक्षा राखेकी छन् । प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला सानुको केन्द्रीय महिला सदस्य पदको उम्मेदवारी पनि सार्वजनिक भएको हो । लामो समयदेखि लोक तथा दोहोरी गीत-सङ्गीतको क्षेत्रमा सक्रिय कलाकारका रूपमा परिचित सानुले प्रतिष्ठानमार्फत कलाकारको हकहित र नेपाली लोक तथा दोहोरी गीत-सङ्गीतको विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।