नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक-प्रशासनिक अधिकार रद्द

  • सोमबार १९ असो २०८३ ०८:२८ PM
महोत्तरी । मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महोत्तरीको पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ । मन्त्रालयले पिपरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा राधेश्याम ठाकुरलाई खटाएको थियो । तर, गाउँपालिकाले उनलाई हाजिर नगराएपछि मन्त्रालयले पालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल कामकाजमा लगाउन निर्देशन दिएको हो । मन्त्रालयका अनुसार पिपरा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रलाई यसअघि नै अन्यत्र सरुवा गरिएको थियो । तर, सरुवा भएको निकायमा हाजिर नगरी उनी साबिककै गाउँपालिकामा कार्यरत रहँदै आएका थिए । मिश्र सङ्घीय सरकारकै शाखा अधिकृत हुन् । यसैबिच मन्त्रालयले मिश्रको स्थानमा ठाकुरलाई पिपरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, गाउँपालिकाले मन्त्रालयले खटाएका ठाकुरलाई समेत हाजिर नगराएको मन्त्रालयले जनाएको छ । सरुवा भइसकेका कर्मचारी साबिककै कार्यालयमा कार्यरत रहनु र मन्त्रालयले नयाँ जिम्मेवारीसहित खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्ने निर्णय गरेको हो । मन्त्रालयले पिपरा गाउँपालिकालाई ठाकुरलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ । त्यस्तै, सरुवा भएका शाखा अधिकृत मिश्रलाई समेत तत्काल सरुवा भएको निकायमा हाजिर हुन निर्देशन दिइएको छ । मिश्रको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ । मिश्र र ठाकुर दुवैको गत भदौ २९ गते भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो । मिश्रलाई पिपरा गाउँपालिकाबाट गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको थियो भने ठाकुरलाई जिल्ला समन्वय समिति महोत्तरीबाट पिपरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो । ठाकुरले असोज पाँच गते जिल्ला समन्वय समिति महोत्तरीबाट रमाना लिएर पिपरा गाउँपालिका पुगेका थिए । तर, गाउँपालिका अध्यक्ष राम जानकी यादव र उपाध्यक्ष वन्दना पाण्डेयले उनलाई हाजिर नगराउने बताएका थिए । ठाकुरले अध्यक्ष र उपाध्यक्षसँग निरन्तर सम्पर्क तथा समन्वय गर्ने प्रयास गरे पनि दुवै जना सम्पर्कमा आउन आइरहेका छैनन् । मन्त्रालयको निर्णयपछि अब पिपरा गाउँपालिकाले मन्त्रालयले खटाएका ठाकुरलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर गराई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित कामकाजमा लगाउनुपर्ने भएको छ ।