काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ अस्मिता बयलकोटीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले युवा महिला, बागमती प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । बयलकोटीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै काँग्रेसमा युवा सहभागिता, समावेशिता र सङ्गठनभित्र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले महाधिवेशन प्रतिनिधिहरूको सुझाव, सल्लाह र विश्वासलाई सम्मान गर्दै पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध भएर जिम्मेवारी निर्वाह गर्ने बताएकी छन् । उम्मेदवारी घोषणासँगै उनले महाधिवेशन प्रतिनिधिसँग साथ, सहयोग, सद्भाव र अमूल्य मतका लागि आग्रहसमेत गरेकी छन् । बयलकोटी २०६९ सालदेखि नेपाली काँग्रेसको सक्रिय सदस्यका रूपमा राजनीतिमा क्रियाशील छिन् । उनी २०७८ सालको काँग्रेस महाधिवेशनमा प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित भएकी थिइन् । स्थानीय तहको राजनीतिमा समेत सक्रिय बयलकोटी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित भएर जिम्मेवारी निर्वाह गरिरहेकी छन् । १५औँ महाधिवेशनमा युवा महिलातर्फ बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै बयलकोटीले पार्टीको सङ्गठनमा युवा महिलाको सहभागिता र भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा युवा महिला, बागमती प्रदेशतर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै छु । यहाँहरूको साथ, सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गर्दछु ।’ उनले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित सबै प्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएकी छन् ।