काठमाडौंको ऐतिहासिक खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ। देशका विभिन्न वडा, गाउँ–नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला तहका अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधिहरू चयन भइसकेका छन् र प्रतिनिधिहरू राजधानीमा भेला भएका छन्। उद्घाटन अब बन्दसत्रमा राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुने तथा असोज २१ र २२ गते नेतृत्व चयनको निर्वाचन हुने कार्यतालिका छ। यस अर्थमा आजबाट सुरु भएको महाधिवेशन केवल एउटा राजनीतिक दलको नियमित सांगठनिक अधिवेशन मात्र होइन। यसले कांग्रेसले आगामी वर्षहरूमा आफूलाई कुन प्रकारको लोकतान्त्रिक संस्था, राजनीतिक शक्ति र विकासको साझेदारका रूपमा प्रस्तुत गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने अवसर पनि दिएको छ। यसपटक कांग्रेसले सार्वजनिक गरेको मूल नारा नै ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ रहेको छ। त्यसैले अब सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो—परम्पराको सम्मान र परिवर्तनको संकल्प व्यवहारमा कसरी रूपान्तरण हुन्छ