काठमाडौँ। झापाका युवा नेता भुपेन्द्रसिंह थेबेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थेबेले आफ्नो उम्मेदवारी नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउने उद्देश्यसहित रहेको बताएका छन्। उनले कांग्रेसले आजभन्दा १० वर्षअघि नै युवालाई नेतृत्वमा ठूलो अवसर दिएको भए अहिलेको राजनीतिक अवस्था केही फरक हुन्थ्यो भन्ने दाबी गरे। उनले आफ्नो पुस्ताका मानिसहरू अहिले देशको नेतृत्व गरिरहेको उल्लेख गर्दै युवाले भविष्यको नेतृत्वका लागि मात्र पर्खिनुभन्दा वर्तमानमै नेतृत्वको अभ्यास गर्नुपर्ने बताए। थेबेले युवालाई नेतृत्वमा ल्याउने अभ्यास कांग्रेसका लागि नयाँ नभएको पनि उल्लेख गरेका छन्। उनका अनुसार बीपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको सुरुवाती चरणमै २००३/२००४ सालमा ३५ वर्षको उमेरमै नेतृत्वदायी जिम्मेवारी सम्हालेका थिए। पछि उनले एकीकृत नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीसमेत सम्हालेको थेबेले उल्लेख गरेका छन्। 'त्यसैले हाम्रो प्रश्न उमेरको मात्र होइन—पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वको अभ्यास र निर्णय गर्ने ठाउँमा कहिले ल्याउने भन्ने हो,' उनले भनेका छन्। कांग्रेस पुस्तान्तरणमा केही ढिला भएको स्वीकार गर्दै थेबेले अहिले युवालाई संस्थागत रूपमा नेतृत्वमा ल्याउने अवसर सिर्जना भएको बताएका छन्। उनले त्यसका लागि सभापति गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेतृत्वलाई धन्यवाद दिएका छन्। थेबेले आफ्नो उम्मेदवारी एउटा पद प्राप्त गर्ने उद्देश्यमा मात्र सीमित नभएको बताएका छन्। कांग्रेसमा नयाँ पुस्ताले जिम्मेवारी लिन, नेतृत्व गर्न र पार्टीलाई नयाँ समयअनुसार अघि बढाउन सक्छ भन्ने अभ्यास स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। यसअघि थेबे नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यका रूपमा पनि रहेका थिए।