दलित क्लस्टरबाट काँग्रेस केन्द्रीय सदस्यमा मन्जित ताम्राकारको उम्मेदवारी घोषणा

  • आइबार​ १८ असो २०८३ ०९:२५ PM
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुँदै गर्दा राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँको टुँडिखेलमा आइतबार उद्घाटन सत्र सम्पन्न भएको काँग्रेस महाधिवेशनमा सोमबारदेखि बन्द सत्र सुरु हुँदै छ । सोमबार नै नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य तालिका रहेको छ । ताम्राकारले पार्टीको केन्द्रीय सदस्यमा दलित क्लस्टरबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।काँग्रेसको २३४ सदस्यीय केन्द्रीय समितिमा दलित समुदायबाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । जसअनुसार चार जना महिला, एक जना मधेसी दलित र पाँच जना खुला दलिततर्फबाट निर्वाचित हुने व्यवस्था छ । ताम्राकार बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । बझाङबाट ४७ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने क्रममा उनले जिल्लामै चौथो सर्वाधिक मत प्राप्त गरेका थिए ।  दलित क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा उनले आफ्ना प्रतिस्पर्धीलाई चार गुणाभन्दा बढी मतान्तरले पराजित गरेका थिए । उनका प्रतिस्पर्धीले करिब तीन सय मत प्राप्त गर्दा ताम्राकारले आठ सयभन्दा बढी मत ल्याएका थिए । ताम्राकार नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल दलित सङ्घका पूर्व केन्द्रीय सदस्य हुन् । उनी विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का केन्द्रीय सदस्यसमेत भइसकेका छन् । उनी काँग्रेसको १२औँ महाधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आएका छन् । यसअघि उनी नेपाल दलित सङ्घबाट महासमिति सदस्यसमेत भएका थिए । ताम्राकार नेपाली काँग्रेसको सक्रिय सदस्य भएको २२ वर्ष पुगेको छ । यही राजनीतिक अनुभव र सङ्गठनात्मक भूमिकाका आधारमा उनले यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।