काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो सङ्घर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुमकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । “कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ, वास्तवमा यो हल्लाद्वारा स्थापित भएको पार्टी होइन”, महासचिव राईले भने । कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनको भनाइ थियो । महासचिव राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।