देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनीतिक तरलता झनै बढ्यो : लिङ्देन

  • आइबार​ १८ असो २०८३ ०५:१६ PM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले पनि देशमा समस्याहरू यथावत रहेको उनले बताए । ‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन बढेर गएको छ,’ उनले भने, ‘दलहरूसँग आग्रह छ । अहिले पनि देश ठीक ठाउँमा आएको छैन । लिक भन्दा बाहिर गएको छ ।’ विगतमा कसैले विरोध गरे गोली प्रहार हुने र अहिले कसैको विरोधमा सामाजिक सञ्जालबाट प्रहार हुने गरेको बताए । समस्या व्यवहार र व्यवस्थामा पनि रहेको बताए । विगतमा राम्रो सोचेर संविधान भए पनि अभ्यासका क्रममा सुधार गर्दै जानुपर्ने बताए । विगतमा राजाबाट राजनीतिक दलहरूलाई निशेध भएको हुन सक्ने र दलहरूबाट पनि राजालाई निशेध गरिएको भन्दै उनले निशेधले कसैको हित नगर्ने बताए । नवयुवा पुस्तासहितको नयाँ सहमति गरेर मुलुक अगाडि बढाउन आवश्यक रहेको बताए । २००७ साल, २०४६ साल, २०६२/०६३ सालको परिवर्तन र जेनजी आन्दोलनपछिको परिवर्तनलाई स्वीकार गरेर नविन समझदारीमार्फत मुलुकलाई अगाडि बढाउन आवश्यक रहेको आग्रह गरे ।