कालिकोटमा पहिलो पटक राष्ट्रिय स्तरको पुल-अप होल्ड च्यालेन्ज हुँदै

  • आइबार​ १८ असो २०८३ ०३:४४ PM
सुर्खेत । कालिकोटमा पहिलो पटक राष्ट्रिय स्तरको पुल-अप होल्ड च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका-९, लालुमा आगामी कात्तिक ३ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो । कालिकोट जिल्ला पुल-अप होल्ड च्यालेन्ज समितिको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट खेलाडी सहभागी हुने समितिका अध्यक्ष धीर बहादुर विष्टले जानकारी दिए । प्रतियोगितामा ३० वर्षमुनिका महिला र पुरुष तथा ३० वर्षमाथिका महिला र पुरुष गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार राशिसहित प्रतियोगिताका थप विवरण पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । आयोजकले कात्तिक तीन गते लालुमा हुने प्रतियोगितामा सहभागी हुन देशभरका खेलाडीलाई आह्वान गरेको छ । स्ट्रेन्थ लिफ्टिङका अन्तर्राष्ट्रिय खेलाडी बिन्दमान लामिछानेका अनुसार नेपालमा पहिलो पटक पुल-अप होल्ड च्यालेन्ज आयोजना गर्न लागिएको हो । नेपालमा यस खेलको आधार तयार गर्दै यसको व्यवस्थित विकास र विस्तार गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए । प्रतियोगितामार्फत पुल-अप होल्ड खेललाई राष्ट्रिय स्तरमा परिचित गराउँदै यसका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने आयोजकको तयारी छ ।