जनसम्पर्क समिति युरोप क्षेत्रबाट केन्द्रीय सदस्यमा भीम परियारको उम्मेदवारी घोषणा

  • आइबार​ १८ असो २०८३ ०८:२६ AM
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति युरोप क्षेत्रबाट खुलातर्फ केन्द्रीय सदस्य पदमा भीम परियारले उम्मेदवारी घोषणा गरेका छन्। जनसम्पर्क समिति पोल्याण्डका सभापतिसमेत रहेका परियारले प्रवासमा रहेका नेपालीलाई पार्टीसँग जोड्दै जनसम्पर्क समितिलाई चलायमान, गतिशील र सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले म्याग्दीका तत्कालीन विद्यार्थी नेता विक्रम बोकटी र म्याग्दी कांग्रेसका वैचारिक नेता अजय मिलन श्रेष्ठबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएर कक्षा ९ देखि राजनीतिक यात्रा सुरु गरेका थिए।  उनी नेवि संघ अर्जुन उच्च मावि इकाइ समितिको अध्यक्ष हुँदै नेवि संघ जिल्ला कार्यसमिति सदस्य, तरुण दल जिल्ला कार्यसमिति सदस्य तथा दलित संघ जिल्ला कार्यसमिति सहसचिवका रूपमा पार्टीका राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भएका थिए। वैदेशिक रोजगारीका क्रममा सन् २०१७ को अन्त्यतिर पोल्याण्ड पुगेका परियार सन् २०१८ मा सुसन परियार र जीवन केसीमार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डसँग जोडिएका थिए।  एनआरएनए पोल्याण्डको २०१९–२०२१ कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिई लोकप्रिय मतसहित निर्वाचित भएको र पोल्याण्डका विभिन्न स्थानमा युथ फोरम गठन गरी नेपालीलाई एनआरएनए पोल्याण्डमा जोड्ने प्रयास गरेको उनले बताएका छन्। त्यस क्रममा प्रवासमा नेपालीले भोगिरहेका समस्या, दुःख, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको परियारको भनाइ छ। नेपाली कांग्रेसका प्रवासी संगठनसँगको सम्बन्धका क्रममा सन् २०१२ देखि जनसम्पर्क समिति पोल्याण्ड स्थापना गरी नेपाली कांग्रेसको विचार प्रवाह गरिरहेका अग्रजहरूसँग भेटघाट र संवाद भएको उनले बताएका छन्। जनसम्पर्क समितिलाई बलियो बनाउनुपर्ने धारणा राख्दै परियार ५ सेप्टेम्बर २०२१ मा वार्सामा सम्पन्न दोस्रो अधिवेशनबाट ३० वर्षको उमेरमा जनसम्पर्क समिति पोल्याण्डको सभापतिमा निर्वाचित भएका थिए। उनले विश्वभरका जनसम्पर्क समितिका सभापतिमध्ये आफू सबैभन्दा कम उमेरको सभापति बनेको दाबी गरेका छन्।  त्यसैगरी, १९ सेप्टेम्बर २०२६ मा वार्सा, पोल्याण्डमा सम्पन्न तेस्रो अधिवेशनबाट उनी पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ३५ वर्षको उमेरमा पुनः सभापतिको जिम्मेवारी पाएकोमा उनले पोल्याण्डका अग्रज तथा समकालीन साथीहरूप्रति आभार व्यक्त गरेका छन्। युक्रेन–पोल्याण्ड सीमामा नेपालीका लागि हेल्पडेस्क रुस–युक्रेन युद्ध सुरु भएको र त्यसपछि युक्रेनमा रहेका नेपालीलाई उद्धार तथा सहयोग गर्न पोल्याण्ड–युक्रेन सीमाको मेडिका क्षेत्रमा हेल्पडेस्क स्थापना गरिएको थियो।  जनसम्पर्क समिति पोल्याण्डको नेतृत्व सम्हाले लगत्तै हेल्प डेस्क स्थापनापछि परियारको विश्वभर चर्चा भएको थियो। तत्कालीन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालबाटै परियारको नेतृत्वमा भएको प्रशंसानीय कार्यप्रति खुसी व्यक्त गरेका थिए।  युद्ध सुरु भएको केही घण्टामै युक्रेनमा ठूलो सङ्ख्यामा रहेका नेपाली ज्यान बचाउन पोल्याण्ड प्रवेशका लागि मेडिका बोर्डरमा अलपत्र परेका बेला परियार नेतृत्वको जनसम्पर्क समितिले ११ घण्टाको यात्रापछि सीमाक्षेत्र पुगेर उद्धारमा सहयोग गरेको थियो।  युद्धको त्रास, अत्यधिक चिसो, कडा सुरक्षा, हजारौँ मानिसको भीड, नेटवर्कको समस्या र रातको समयमा कठिन परिस्थितिबीच नेपाली झण्डासहित हेल्पडेस्क स्थापना गरिएको परियारको भनाइ छ। उनका अनुसार हेल्पडेस्कमार्फत नेपालीलाई बस, ट्याक्सी र रेलको व्यवस्था गरी सुरक्षित स्थानमा पठाउने, खाना तथा बसोबासको व्यवस्था गर्ने र पोल्याण्ड तथा नेपाल सरकारले जारी गरेका महत्वपूर्ण सूचना प्रवाह गर्ने काम गरिएको थियो। हेल्पडेस्कमा नेपालको राष्ट्रिय झण्डासँगै कांग्रेसको चारतारे झण्डासमेत राखिएको उल्लेख गर्दै उनले देशमा होस् वा विदेशमा अप्ठ्यारो परिस्थितिमा कांग्रेस साथ दिन आइपुग्छ भन्ने सन्देश दिन खोजिएको बताए। तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा राखेको पोस्टले आफूहरूलाई थप काम गर्ने हौसला मिलेको उनको भनाइ छ। परियारले जनसम्पर्क समितिलाई चलायमान बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित नियमित गतिविधि सञ्चालन गरेको र अन्य संघसंस्थासँग समन्वय गरी जनहितका काम गर्दै आएको बताएका छन्। नीति महाधिवेशनमा परियारले उठाएका ११ विषय परियार २०८० फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको नीति महाधिवेशनमा पनि सहभागी थिए। उनले भ्रातृ संस्थाको गुट र हस्तक्षेपरहित नियमित अधिवेशन, वडा तहदेखि केन्द्रसम्म हरेक तहमा युवा सहभागिताको विशेष व्यवस्था, संघीय संरचनाअनुसार चलायमान पार्टी संगठन, सहज डिजिटल सदस्यता, विवादरहित सङ्गठित र चलायमान जनसम्पर्क समिति तथा जनसम्पर्क रिजनल समिति गठन लगायत विषय उठाएका थिए।  त्यसैगरी पार्टी केन्द्रीय कार्यसमितिमा जनसम्पर्कको रिजनल प्रतिनिधित्वको ग्यारेन्टी, युवालाई उद्यमसँग जोड्ने विशेष कार्यक्रम, स्वदेश फर्किने युवालाई सीपअनुसार सरल व्यावसायिक कर्जा, दूतावास नभएका आवश्यक देशहरूमा अधिकारसहितको कन्सुलर शाखा स्थापना तथा विश्व श्रम बजारमा रहेका नेपालीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने विषय पनि आफूले उठाएको उनी बताउँछन्।  परियारले तत्कालीन पार्टी नेतृत्व यी विषयमा लामो समय अनुदार देखिएको दाबी गरे।  उनले स्थापनाको आधा शताब्दी पुग्न लाग्दा विश्वका ४० भन्दा बढी देशमा जनसम्पर्क समिति स्थापना भइसकेको भन्दै जनसम्पर्क समितिमा रहेको गुटको प्रभाव अन्त्य गर्नु अहिलेको आवश्यकता भएको बताए।