काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहीँ असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ७७ जिल्लाका ७५३ वटै पालिकासम्म पुग्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा शनिवार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानका क्रममा केन्द्रीय सदस्य तथा सांसदले सम्बन्धित पालिकामा जनता, पार्टीका नेता-कार्यकर्ता तथा सरोकारवालासँग छलफल गर्ने र उनीहरूबाट सुझाव सङ्कलन गर्ने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रवक्ता जगदीश खरेलले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । बैठकले अभियानमा पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशनसमेत दिएको छ ।