विद्युत् सेवालाई थप सेवामुखी बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्रीको निर्देशन

  • शनिबार १७ असो २०८३ ०४:३५ PM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा अघि बढिरहेको उल्लेख गर्दै विपद्का समयमा समेत विद्युत सेवा पुन : सञ्चालनका लागि कर्मचारीले गरेको कामको प्रशंसा गरे । उनले सेवा सुधारको प्रयास सकारात्मक भए पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे । मन्त्री श्रेष्ठले मौसमी खराबीका कारण विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा ग्राहकहरूलाई समयमै सही सूचना प्रवाह गर्ने र वितरण कार्यालयहरूले तुरुन्त सम्बोधन गरी नागरिकप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताए । उनले हेटौंडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएकोले सोको पूर्वतयारी र बक्यौता असुलीमा कडाइ गर्नुपर्ने धारणा राखे । हेटौंडा डिभिजन पूर्व–पश्चिम विद्युत् आदानप्रदानको प्रमुख हब र नेपालको ऊर्जा मेरुदण्ड बन्दै गएकाले सोही अनुसारको संरचनागत तयारी गर्नुपर्ने उनको भनाइ छ ।