काठमाडौं । नेपाली कांग्रेसका नेता सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन्। शनिबार ९असोज १७० पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उमेदवारी घोषणा गरेका हुन्। उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उमेदवारी दिने निर्णय गरेको बताए। कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको उनले उल्लेख गरे। ‘मैले नेपाली कांग्रेसको यसपालि महामन्त्री पदमा मैले आफ्नो उमेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु,’ उनले भने। लोकतन्त्र पुनर्स्थापनाका निम्ति विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लविङ’ गरेको उनले स्मरण गरे । उनले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुँदैछ।