१७ उपसचिवको सरुवा, आठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर (सूची)

  • शुक्रबार​ १६ असो २०८३ ०९:०१ PM
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका १० जना र विभिन्न निकायमा कार्यरत सात जना गरी १७ जना उपसचिवको सरुवा गरेको हो । मन्त्रालयले १७ जना उपसचिवको सरुवा गर्दा आठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत हेरफेर भएका छन् । बैतडीका दशरथ चन्द र पाटन, मोरङको लेटाङ, सिन्धुलीको कमलामाई, लमजुङको मध्य नेपाल, काठमाडौँको शंखरापुर, महोत्तरीको भंगाहा र रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका हुन् । आठ नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा दुई जना उपसचिवलाई पुनः अर्को नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीमा खटाइएको छ । बैतडीको दशरथ चन्द नगरपालिकामा कार्यरत केशवराज सुवेदीलाई लमजुङको मध्य नेपाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुनः खटाइएको छ । त्यस्तै, मोरङको लेटाङ नगरपालिकामा कार्यरत शशि राईलाई काठमाडौँको शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुनः खटाइएको छ । सामान्यतया एउटै कर्मचारीलाई दोहोर्‍याएर पालिकाकै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाउने अभ्यास कम हुने गरेको छ । तर यस पटक मन्त्रालयले दुई जना उपसचिवलाई एक पालिकाबाट अर्को पालिकामा पुनः प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीमा खटाएको हो । मन्त्रालयको पछिल्लो सरुवा निर्णयसँगै विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत हेरफेर भएको छ ।