वडा १८ ले थाल्यो तेस्रो संस्करणको सिप मेला : ८ विधामा तालिम 

  • शुक्रबार​ १६ असो २०८३ ०८:३२ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले आजदेखि भुरुङ्खेलमा तेस्रो संस्करणको सिप मेला सुरु गरेको छ । उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विषय मेलामा प्रशिक्षण हुनेछ । वडाध्यक्ष न्हुच्छेकाजी महर्जन भन्नुहुन्छ, ‘उद्यमबाट आयको स्तर बढाउने तथा आफैँ सामान उत्पादन गरेर खर्च घटाउने र रोजगारमूलक क्षेत्रमा जान आत्मविश्वाश बढाउने उद्देश्य राखेर हामीले नियमित रुपमा सिप मेला गरिरहेका छौँ ।’ विगत प्रशिक्षणका विषय र स्थानीयबासीको जीवन स्तरमा परेको सकारात्मक प्रभाव स्मरण गर्दै महर्जनले भन्नुभयो, ‘डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, वेकरी बनाउने लगायत तालिमबाट २ हजार बढी व्यक्तिलाई प्रशिक्षित गरिसकेका छौँ ।’ वडा सदस्य हेराशोभा डंगोल (महर्जन) का अनुसार यस वर्ष कार ड्राइभिङ्, स्वीमिङ्, वारिस्ता, बेकरी, खेलौना बनाउने, अचार बनाउने, भान्छा औषधालय, उदघोषण गरी ८ वटा विधामा तालिम चल्नेछ । तालिम कम्तीमा ७ दिन र बढीमा १५ दिन सम्मका छन् ।  वडाले यस अघि तालिम दिएका योग्य जनशक्तिलाई प्रशिक्षक रुपमा काम गर्न प्रोत्साहन गरिरहेको छ ।  तालिममा सहभागी ७१ वर्षिया रीता तुलाधर भन्नुहुन्छ, ‘महानगरपालिकाले हाम्रा लागि दिएको तालिम लिनुपर्छ भनेर आएकी हूँ । म अब व्यवसाय त गर्दिन । तर, यसपालीको भाइटीकामा भाइहरुलाई दिने मिठाइ म आफैँ बनाएर उनीहरुलाई खुशी बनाउँछु । आफूले बनाउँदा स्वच्छ पनि हुन्छ । स्वस्थ पनि हुन्छ । मैले बजारमा गर्नुपर्ने खर्च घटाउनु पनि त मेरा लागि त फाइदा भयो नि ।’