मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर 

  • शुक्रबार​ १६ असो २०८३ ०४:०१ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो मंसिर ७ गतेदेखि इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) सँगको सहकार्यमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक २०२६’ आयोजना गर्ने भएको छ । जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका विषयमा समुदायस्तरदेखि प्राज्ञिक समुदायसम्म सहभागी गराएर सचेतनामूलक तथा सहभागितामूलक सप्ताहव्यापी कार्यक्रम आयोजना हुनेछन् । आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र आईएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।  जलवायु तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला बिच सहकार्य सुदृढ गर्ने, सहरी वातावरण र विपद् उत्थानशीलताका विषयमा नगरस्तरीय सञ्जाल निर्माण गर्ने तथा बालबालिका, युवा, समुदाय, जोखिममा रहेका वर्ग, अनुसन्धानकर्ता र सरोकारवालाको समस्या समाधानका उपायमा सहभागिता बढाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।  सहमतिपछि कार्यक्रमबाट अपेक्षित नतिजाका विषयका कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, जलवायुको प्राकृतिक स्वरुप बिग्रिन नदिन अभ्यास गरिएको रैथाने ज्ञान, सिप र अनुभवलाई बिज्ञानसँग जोड्ने कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । ‘पूर्खाले गरेको अभ्यास, उहाँहरुको ज्ञान र सिप व्यवस्थित थियो । यो व्यवस्थापनको ज्ञानलाई विज्ञानसँग जोड्न नसकिएकाले मौलिक क्षमता ह्रास भएको छ ।’ उहाँले भन्नुभयो, ‘प्रकृति र प्राकृतिक मौसम जोगाउन समुदायका अभ्यास र तथ्यलाई कार्यक्रम सञ्चालनको आधार बनाउनुपर्छ ।  यसलाई जोगाउने कामलाई आवश्यकताका आधारमा प्रविधि र नयाँ अभ्याससँग जोड्न पनि सकिन्छ ।’ ‘सहर जोगाउन महानगरपालिकाको मुख हेरेर मात्र हुँदैन । जोसँग जुन क्षेत्रको ज्ञान र क्षमता छ । त्यसको प्रयोग पनि गर्नुपर्छ ।’ आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौत्तमले भन्नुभयो, ‘मैले करिब ४ वर्ष अघि मेयर्स रिसर्च फेलोसिपमा गरेको अनुसन्धानबाट प्राप्त शिफारिसलाई कार्यान्वयन गर्ने अवसरको सदुपयोग गर्नेछु ।’ गौत्तमले २०७ सालमा ‘काठमाडौँमा ढुङ्गेधाराको नक्साङ्कन र संरक्षणका सम्भावना’ विषयमा सहरी योजना आयोगबाट फेलोसिप प्राप्त गर्नुभएको थियो ।  कार्यमूलक सप्ताहव्यापी कार्यक्रममा सहरी बाढी, डुबान, अत्याधिक गर्मी, वायु प्रदषण, जलस्रोतमा बढ्दो चाप, फोहरमैला व्यवस्थापन, हरियाली क्षेत्रको संरक्षण तथा सांस्कृतिक र पर्यावरणीय सम्पदामाथिको जोखिम न्यूनीकरणका विषयमा नीति संवाद तथा व्यावहारिक कार्यक्रम सञ्चालन गरिनेछन् । कार्यक्रममार्फत जलवायु उत्थानशीलतालाई महानगरपालिकाको योजना तथा बजेट तर्जुमा, जलवायु वि र नीति निर्माण प्रक्रियासँग जोड्ने तथा सम्पदा, परम्परागत ज्ञान, खाद्य प्रणाली र परम्परागत जल प्रणालीको संरक्षण र प्रवर्धनमा जोड दिइनेछ । यसबाट आगामी दिनमा कार्यान्वयन गर्नुपर्ने प्राथमिकताका विषयमा व्यावहारिक सुझाव तथा प्रतिबद्धता तयार हुने अपेक्षा गरिएको छ ।  कार्यक्रमहरु महानगरपालिकाका सभा हल, बैठक कक्ष, विद्यालय, खुला तथा सम्पदा क्षेत्रलगायतका स्थानमा सञ्चालन गरिनेछ ।