‘राष्ट्रियसभाले सरकारका गतिविधिमा निरन्तर रचनात्मक सहयोग गर्दै आएको छ’

  • शुक्रबार​ १६ असो २०८३ ०५:४१ PM
काठमाडौँ । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्तले राष्ट्रियसभाले सरकारका गतिविधिमा निरन्तर रचनात्मक सहयोग गर्दै आएको बताएकी छिन् । राष्ट्रियसभाको चालु अधिवेशनको समापन बैठकलाई आज सम्बोधन गर्दै उनले यो सभाले सरकारलाई नीति तथा कार्यक्रम, बजेट तथा अध्यादेश पारितलगायत कार्यमा निरन्तर रचनात्मक सहयोग गर्दै आएको बताइन् । भोटेकोशी बाढी तथा विपद् व्यवस्थापनको पूर्वतयारी कमजोर भएको भन्दै सांसद पन्तले यसबाट पाठ सिकेर आगामी दिनमा प्रभावकारी रूपमा पूर्वतयारी र विपद्पछिको व्यवस्थापनमा घटिनुपर्ने आवश्यकता औँल्याइन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झक्कुप्रसाद सुवेदीले भोटेकोशी बाढीबाट भएको क्षतिको विस्तृत अध्ययन गर्न सरकारलाई सुझाव दिए । उनले बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा प्रभावितको पुनःस्थापनाका लागि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए । जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले भोटेकोशी बाढीको विपद्का समयमा सरकारले देखाएको पहल र उद्धारकार्य प्रशंसनीय रहेको बताए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक पारदर्शिताका लागि सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरे । उनले महँगीका कारण जनताको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै बजार मूल्य नियन्त्रण तथा कालोबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद रोशनी मेचेले चालु अधिवेशनमा एक दर्जनभन्दा बढी विधेयक पारित हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताइन् ।